३० चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका हुन् । कांग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताउँदै उनले कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको भन्दै अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको बताए ।
उनले भनेका छन्, ‘समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’