३० चैत, काठमाडाैं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने तर्क गरेका छन् ।
पूर्वराजा शाहको उक्साहटमा चैत १५ गते तीनकुने घटना भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारवाहीको दायरा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि आज सामाजिक सञ्जालमार्फत अधिवक्ता भट्टराईले संसदीय अभ्यास, मूल्य, मान्यताका आधारमा त्यसो गर्न नमिल्ने बताएका हुन ।
भट्टराईले लेखेका छन– ‘हिजोको संसदीय समितिमा गत चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय वितण्डा बारेमा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने विषयमा भएको छलफल र माननीय जीवन परियार लगायतले राखेको मतको सम्मान गर्नु पर्दछ । पूर्व राजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो विषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छलफल योग्य नै हो तर मेरो विचारमा संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न मिल्दैन ।’