|  

कलंकीको नेशनल अस्पतालले महानगरलाई बुझायो १ लाख जरिवाना

३० चैत, काठमाडौं । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापर्वाही गरेपछि १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा चासो नदिएपछि महानगरले जरिवाना गरेको हो । यसपटक अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो । यसपछि जरिवानाको पत्र पठाइएको थियो । महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो ।

काठमाडौँ महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐ्न २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेको जनाएको छ । २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्न अस्पतालले प्रतिवद्धता जनाए पनि पटक पटक अनुगमनका क्रममा कुनै सुधार नगरेको महानगरले जनाएको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु हस्पिटलका लापर्वाही गरेका कारण जरिवाना गरिएको छ ।