|  

एक जनालाई पिटेको छैन, तर १७ हजार मार्यो भन्छनः प्रचण्ड

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहिरहेको बताएका छन् ।

आज खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले इतिहास पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको बताएका हुन् । उनले युद्धमा राज्य पक्षले कति मार्यो ? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त ? भन्दै प्रश्न गरे । उनले भने, ‘सेना समायोजन र हतियार व्यवस्थापनको कुरामा पनि सबैभन्दा बढि जोखिम माओवादी केन्द्रले नै उठायो । आफ्नो पार्टी विभाजनमा जाने देख्दादेख्दै पनि हतियार व्यवस्थापन आजकै दिन हुनुपर्छ भएन भने भोलि थुप्रैको हत्या हुनसक्छ भन्न सक्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । यसको डिफेन्ड गर्न, माओवादीकै लिडरसिप हो भन्न तपाईंहरुलाई किन गाहे भैइराखेको छ ? हतियार व्यवस्थापन र सेना समायोजन जोखिम उठाएर पनि माओवादीले टुङ्ग्याएकै हो भन्न तपाईंहरुलाई कठिन किन भइराखेको छ ? एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिराख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्यो ? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त ?’

साथै उनले १७ हजार प्रचण्डले मार्यो भन्छन तर आफूले छैन अहिलेसम्म हत्याको त कुरै छोडिदिनुस एक जनालाई पनि नपिटेको बताए । उनले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने जिकिर गरे । संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा सबै पक्ष सहमत भएकाले त्यसको काम तीव्रताका साथ अघि बढ्ने उनको भनाई छ ।