|  

एमाले अझै प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको छः ओली

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा एमाले कमजोर अवस्थामा देखिएको स्वीकार गरेका छन् ।

झापाको दमकस्थित पशुबजारमा एमालेले नै आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले विगतको संघर्षपूर्ण अवस्थाबाट आएको एमाले प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको स्वीकार गरेका हुन् । ४८ पछिको निर्वाचनमा पहिलो पटक नै झापा जिल्ला लाल किल्ला भनेर नारा दिएको जिल्ला हो ।

मेची अञ्चल चार जिल्ला चारै जिल्ला लाल किल्ला भनेर नारा दिएको यो ठाउँ हो,’ ओलीले भने, ‘क्याम्पस र विद्यालयमा स्ववियु गठन गर्दा २६, २७ सालमा हामी गिरफ्तार भएका हौँ । चुटाइ खाएर मुद्दा भोग्दा, जेलमा बस्दा, हिरासतमा बस्दा... हामीले कसैलाई पनि यस जिल्लामा चुनाव जित्न दिएनौँ । सम्भाव नै थिएन । त्यो ठाउँबाट आएको नेकपा एमाले आज अझै प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको छ ।’

ओलीले पार्टीका जनवर्गीय संगठनहरू कसैको ‘कानमा लगाउने कुण्डल वा शिरमा लगाउने ताज’ नभएको पनि बताए । एमाले प्रदेश समितिलाई आग्रह गर्दै ओलीले पार्टी संगठन चुस्त दुरुस्त बनाउन पनि आग्रह गरे । ‘प्रदेश एमालेलाई आग्रह गर्न चाहन्छु ।

आफ्ना कमिटीहरूलाई चुस्त दुरुस्त निर्माण गर्नुहोस् । सक्रिय रुपमा परिचालन गर्नुहोस् र अगाडि बढाउनु होस्,’ ओलीले भने, ‘आफ्ना जनवर्गीय संगठनहरू, कानमा लगाउने कुण्डल वा शिरमा लगाउने ताज होइन । कामको लागि हो । आन्दोलनको लागि हो ।’