|  

अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा सामूहिक र्‍याली

३१ चैत्र, काठमाडौं । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दशौं हजार यमनीहरूले सामूहिक र्याली निकालेका छन् ।

उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी नेता अब्दुलमलिक अल–हुथीले यो र्याली आह्वान गरेका हुन् ।
अमेरिकी सेनाले शहर र वरपरका धेरै स्थानहरूमा ११ वटा हवाई आक्रमण गरेको केही घण्टापछि मध्य सानाको अल–सबीन स्क्वायरमा र्याली आयोजना गरिएको थियो ।

र्यालीको क्रममा प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा बोकेका थिए । अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए । उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई गाजामाथिको युद्ध अन्त्य गर्न र इजरायललाई अति आवश्यक खाद्यान्न र औषधि क्षेत्रमा प्रवेश दिन दबाब दिन पनि आह्वान गरेका छन् ।

मार्चको मध्यदेखि राजधानी साना र अन्य धेरै उत्तरी प्रान्तहरूमा अमेरिकी हवाई आक्रमणमा हालसम्म १०७ भन्दा बढी यमनी नागरिकहरू मारिएका छन् ।