३१ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् ।
यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
कोइरालाले भने, ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’
संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा काम गर्न पनि नपाइने व्यवस्था छ ।