३१ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन ।
नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले चैत १५ गते भएको तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन । पूर्वराजा शाहले भने, ‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ । केहीदिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी ,तोडफोड भयो त्यसबाट मानवीय एवम भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अन्त्यन्तै दुस्ख लाग्यो ।’
उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत बताए । उनले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो र नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’ शाहले नेपाली जनतामा देशभक्ति भावना विश्वमै अनुकरणीय रहेको दाबी गरे ।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा एक जना पत्रकार र एक जना सर्वसाधारणको ज्यान गएको थियो । राजावादीको आन्दोलनमा व्यक्तिका घर, पसल, अन्नपूर्ण पोष्ट् र कान्तिपुरको कार्यालय, राजनीतिक दलका कार्यालय, सरकारी र निजी सवारी साधनलगायतका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता कार्य भएका थिए ।