|  

उच्चले सफाइ दिएपछि न्यायाधीश गिरी जेलमुक्त

०१ बैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्दै उच्च अदालत पाटनले करणी मुद्दामा सफाइ दिएपछि न्यायाधीश भुवन गिरी जेलमुक्त भएका छन ।

श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ २९ गते सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तिराउन फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा आइतबार उच्च अदालतका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले उल्ट्याएको हो । अदालतको आदेश औपचारिक रुपमा पाएपछि निलम्बित न्यायाधीश गिरी सोमबार बिहान कारागार कार्यालय डिल्लीबजारबाट छुटेको सहायक जेलर शेरबहादुर थापाले जानकारी दिए ।