|  

देवर-भाउजूबीच सिस्नुपानी छ्यापेर सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

०१ बैशाख, काठमाडौं । देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाइँदै छ ।

नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ । देवर-भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गरिन्छ । बिहानै नुहाइधुवाइ गरी इष्टदेवको पूजाआराधना गरी पर्व मनाइने गरिएको हेमराज पाण्डेयले बताए । उनले भने,‘बिसु पर्वमा नयाँ लुगा लगाउने, मीठो मसिनो परिवारसँगै बसेर खाने चलन छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुबीच एकअर्काले सिस्नोपानी छ्यापेर यस पर्वमा रमाइलो गरिँदै आएको छ, पछिल्लो समय यो चलन भने विस्तारै हराउँदै गएको छ ।’

उनका अनुसार एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको उनले बताए । बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा गतानी डुब्कासँगै रोट, माणा, सेलपुरी, मासुलगायतका परिकार बनाएर खाने चलन छ ।

यस अवसरमा बूढापाका गङ्गास्नानका लागि भारतको हरिद्वारलगायतका प्रसिद्ध धार्मिक क्षेत्रमा स्नानका लागि जाने चलन पनि पुरानै रहेको पाण्डेयले बताए । भारतलगायत अन्य क्षेत्रमा काम विशेष र रोजगारीका लागि गएका घर फर्कने भएकाले परिवारमा रौनकता छाउने गर्दछ । अछाम, बाजुरालगायतका क्षेत्रमा बिसु पर्वका अवसरमा महिलाहरुले पुतला खेल (नाच) देखाउने गर्दछन । बिसुमा पुतला नाच देखाउने कार्य पुस्तौँदेखि चल्दै आएको अमरबहादुर साउदले बताए । पुस्तौँदेखि चल्दै आएको पुतला नाच भने विस्तारै लोप हुँदै जान थालेकाले यसलाई जोगाउनका लागि युवापिँढीलाई अग्रसर गराउनुपर्ने उनको भनाइ रहेको छ ।

यसै पर्वका अवसरमा शक्तिपीठमा पशु बलि दिने चलन पनि रहेको छ । सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम जिल्लामा मुख्यतः यो पर्व मनाइने गरिन्छ । बसाई सारेर कैलाली कञ्चनपुरलगायतका तराईका जिल्लामा झरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । भारतको कुमाउँ गढवाल क्षेत्रमा पनि बिसु पर्व मनाइने गरिन्छ ।