०१ बैशाख, काठमाडौं । नेकपा (एमाले) ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।
त्यस्तै, पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । उनले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए । उनले बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरुबारे समेत समिक्षा भएको बताए । शाहद्वारा हिजो सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए ।