|  

भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति कांग्रेसमा देखिएको छः परराष्ट्रमन्त्री राणा

०१ बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको टिप्पणी गरेकी छन् ।

इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको भन्दै अझ बढी कांग्रेसमा देखिएको बताइन् । उनले भनिन्,‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै बिरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो ।’ 

उनले नेताहरूको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने बताइन । उनले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन । उनले आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको बताइन । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको प्रसंग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा त झन कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले यो भन्दा झन ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्नेमा जोड दिइन ।