२ बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् ।
रास्वपाकी सांसद सोबिता गौतमले संसद्मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेकी थिइन् । जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् ।
सांसद गौतमको प्रश्न छ– कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईंलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’ यो विषयलाई सरकारले प्राथमिकतामा नराखेको आशंका सांसद गौतमको छ ।
जवाफमा गृहमन्त्री लेखक लेख्छन्, ‘गृह मन्त्रालय र अन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित रहेर निस्पक्षमूलकढंगबाट अनुसन्धान गर्ने गरी परिचालन गरिएको छ । त्यसैले प्रस्तुत अपराधमा सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको छ ।’