२ बैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही नगरिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
पूर्वराजाले आफूलाई ‘श्री ५ महाराजाधिराज’ भनेर सम्बोधन गर्नु, उनका संवादसचिवले जारी गर्ने विज्ञप्तिमा पनि ‘श्री ५’ लेख्नु कानुनविपरीत भएको भन्दै उनले त्यसमा कारबाही नगरिएकामा सरकारमाथि प्रश्न गरेका हुन् ।कानुनतः नभएको पद भएको भनेर जिकिर गर्ने कार्य गैरकानुनी भएको भन्दै उनले त्यस्तो क्रियाकलाप नरोक्नु सरकारको गैरजिम्मेवारी भएको तर्क गरेका छन् ।
‘पूर्वराजाले आफूखुसी ‘श्री ५ महाराजाधिराज’को नाममा सन्देश जारी गर्नु संविधानविपरीत र गैरकानुनी कार्य हो,’ थापाले भनेका छन्, ‘यसमा उनले कृत्य, जालसाजी, नक्कली ओहदा धारणको प्रचारबाजीलगायत गैरकानुनी कार्य गर्दै आएको तथ्य प्रथम दृष्टिमै स्पष्ट छ ।’थापाले पूर्वराजाले ०७९ सालदेखि आफूलाई ‘श्री ५ महाराजधिराज’का रूपमा नक्कली पगरीमा प्रस्तुत गरिरहेको उल्लेख गरेका छन् ।