०२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भनिएका पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण स्पष्ट पार्न आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको थुनासम्बन्धी आदेशको विवरण (कैफियत प्रतिवेदन) पेश गर्न निर्देशन दिएको हो । यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत साता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गराएका थिए । सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले आदेशको वैधानिकता परीक्षण गर्न प्रतिवेदन माग गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशी हाल थुनामा छन् ।
यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउन आदेश दिएको थियो, जुन आदेशलाई उच्च अदालतले समेत सदर गरेको थियो ।