|  

शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान समेत प्रभावित

०२ बैशाख, काठमाडौं । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ ।

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु भएको थियो । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन्। चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरु यतिबेला शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौंका सडकमा छन । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन २०८१ को चैत २० गतेदेखि जारी छ । शिक्षकहरु प्रस्तावित विधेयकमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन । शिक्षकहरू बबरमहल-बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन ।