३ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ ।
यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।’
यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशत कर लगाएका छन् । फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशतभन्दा बढी कर समावेश छन् ।
ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छुट दिएको छ। मंगलबार अमेरिकी राष्ट्रपतिले भने, ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,’ राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ ।