|  

आईसीयूमा रहेकी एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार 

३ बैशाख, काठमाडौं । भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार भएको छ । भारतकै निकै चर्चित अस्पतालमा गनिने ‘मेदान्ता’मा उक्त घटना भएको हो ।

अस्पतालकै एक कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार गरेका एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् । त्यसपछि उद्धार गरी उनलाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । ५ अप्रिलका दिन उनी सो अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा थिइन् ।

सोही क्रममा अस्पतालका एक पुरुष कर्मचारी उनको हातमा ‘ब्यान्ड’को साइज नाप्ने बहानामा आएर यौन दुर्व्यवहार गरेको बताइएको छ । मुखमा नली लगाइएका कारण पीडित महिला बोल्न नसके पनि टाउको हल्लाएर प्रतिवाद गर्न खोजेपछि ती कर्मचारी भागेको पीडित पक्षको भनाइ छ ।

आईसीयूमा दुई जना नर्स रहे पनि उनीहरूले बेवास्ता गरेको पीडित महिलाले जनाएकी छन् । उपचारपछि निको भएर ती महिला आफू बसेको रुपमा फर्किइन् र पतिलाई उक्त घटनाबारे बताइन् । दम्पतीकै सहमतिमा उक्त घटनाबारे प्रहरीमा उजुरी गरिएको छ । प्रहरीले अस्पतालको सीसीटीभी फुटेज निकालेर अनुसन्धान थालेको छ ।