०४ वैशाख, काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।
ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो । योसँगै उनी कारागार चलान भएका छन् ।
यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका-४ स्थायी घर भई टोखा नगरपालिका-१० बस्ने नारायण पौडेलले फरार छन । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो । उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत माग दाबी गरिएको छ ।
गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका-१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।