०४ बैशाख, काठमाडौं । शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आह्वान गरे पनि शिक्षकले आन्दोलनलाई थप चर्काएका हुन् । मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नेसमेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।
शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेपछि उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा यसको प्रभाव परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ । आज नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन ।