|  

महामन्त्रीद्वयलाई पार्टी बैठकमा सोधियो- सरकारको आलोचना संयन्त्रको बैठकमा नगरी किन बाहिर गरेको ?

०४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अभिब्यक्तिप्रति प्रश्न उठाएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी, पूर्वदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा प्रवक्ता प्रकाशरण महतलगायतले महामन्त्रीद्वयको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् । महतले बैठकमा महामन्त्रीद्वयलाई सरकारको आलोचना संयन्त्रको बैठकमा नगरी किन बाहिर गरेको भन्दै सोधेका थिए । महतले असन्तुष्ट भएका विषयलाई सम्बन्धित संरचनामै राखेर र बोलेर समाधान खोज्नुपर्ने बताए । 

बैठकमा भनेको कुरा भन्दै महतले थपे, ‘हामीले सरकारको आलोचना गर्ने कुरा बाहिर राख्नेभन्दा पनि सम्बन्धित संरचनामा कुरा राख्नुपर्‍यो, त्यहाँबाट आएका विषयमात्र बाहिर राख्नुपर्‍यो ।’ नेताहरूको आलोचनापछि महामन्त्रीद्वयले आगामी दिनमा सुधार गर्नेबारे महसुस गरेको दाबी गरे । बैठकबाट बाहिरिएपछि महतले तालमेल र समन्वय कांग्रेससँगै प्रधानमन्त्रीकै दलमा पनि आवश्यक भएको बताए ।