०४ बैशाख, काठमाडौं । राजसंस्था पुनस्र्थापनाको मुद्दा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय राजधानी काठमाडौं उपत्यकास्थित सुरक्षाका हिसाबले संवेदनशील मानिएका स्थानमा प्रदर्शन गर्ने भएकाे छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ७ गते काठमाडौंमा सुरक्षाका दृष्टिले संवेशील मानिएका स्थानहरूमा प्रदर्शन गर्ने निर्णय गरेको हो । सरकारले सुरक्षाका दृष्टिले संवेदनशील सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संसद् भवनसहितलाई निषेधित क्षेत्रका रुपमा तोकेको छ । यीसहितका क्षेत्रमा प्रदर्शनको योजना राप्रपाले ल्याएको हो । बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लौजाने निर्णय गरेको छ । त्यसक्रममा पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।’
त्यसैगरी राप्रपाको बैठकले चैत ९ गते ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शनहरू आयोजना गर्ने पनि निर्णय गरेको छ । अध्यक्ष लिङदेनले उपत्यकामा वडा तहसम्म सबै नेताहरू पुग्ने र संगठनलाई अझै मजबुत बनाउने र आन्दोलनकेन्द्रित बनाउने निर्णय गरेको पनि बताए । राप्रपाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतको रिहाइका लागि कानुनी र राजनीतिक लडाइँलाई सशक्त रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।