|  

काङ्ग्रेसबाटै ओलीविरूद्ध बढिरहेको आलोचना राेक्ने प्रयासमा सभापति देउवा

०४ बैशाख, काठमाडौं । सत्ता साझेदारका पदाधिकारीबाटै आफूविरूद्ध भइरहेका आलोचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले त्यसलाई रोक्ने प्रयासमा लागेका छन् ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय छलफलमा काङ्ग्रेसबाटै बढिरहेको आलोचनामा असन्तुष्टि व्यक्त गरेपछि देउवाले त्यसलाई रोक्न खोजेका हुन । आज बालुवाटारमा बसेको संयन्त्रको बैठकमा पनि ओलीले सरकार र आफूविरूद्धको श्रृङ्खलाबद्ध आलोचनाबारे देउवाको ध्यानाकर्षण गराएका थिए । उच्चस्तरीय राजनीतिक संयन्त्रमै रहेका महामन्त्री गगन थापाले सरकारको चर्को आलोचना गरिरहेको विषयमा ओलीले देउवाको ध्यानाकर्षण गराउँदै सचेत गराउन आग्रह गरेका थिए । त्यसपछि देउवाले व्यक्तिगत आलोचनालाई पार्टीगत धारणाका रूपमा नलिन ओलीलाई सुझाएका थिए । महामन्त्री थापाले सरकारले प्रशंसायोग्य काम नगर्दा प्रचार गर्न नसकिएको बताइरहेका छन ।

यस्तै, सरकारको कार्यशैली निकै सुस्त रहेको भन्दै सरकार कङ्कर्डको गतिमा चल्नुपर्नेमा ट्याक्टरको गतिमा रहेको टिप्पणी गरिरहेका छन । प्रधानमन्त्रीको कार्यशैली सुधारमा खबरदारी गर्दा समेत नसुध्रिएपछि थापा विरक्तिएका छन ।

यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले सरकारको आलोचना गर्नुपर्ने सात बुँदे कारण बुधबार सार्वजनिक गरेका थिए । महामन्त्रीद्वयको निष्कर्ष सरकारको कार्यशैली समर्थनयोग्य नरहेको छ । उनीहरू दुवैले आफूहरू सत्ता बदल्ने नभएर सरकार सञ्चालनको शैली बदल्ने अभियानमा रहेको बताउँदै आएका छन ।