५ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मका आधारमा नागरिकता दिन नहुने भन्ने निर्णयमा अदालतले रोक लगाएको छ ।
यद्यपि, सर्वोच्च अदालतले यस विषयमा बहस सुन्ने अनुमति दिँदै आगामी मे महिनामा सुनुवाइ गर्ने जनाएको छ ।
सर्वोच्च अदालतले अहिले नै ट्रम्पको निर्णय संविधानअनुसार हो या होइन भनेर निर्णय नगर्ने जनाएको छ ।हालका लागि अदालतले एक महत्वपूर्ण प्राविधिक पक्षमा ध्यान दिनेछ, जुन भविष्यमा ठूलो प्रभाव पार्न सक्छ ।
त्यो पक्ष हो, जिल्ला अदालतका न्यायाधीशहरूले राष्ट्रव्यापी रूपमा राष्ट्रपतिको नीति रोकिने आदेश दिन सक्छन् या सक्दैनन् भन्ने विषय ।तीन जना संघीय न्यायाधीशहरूले ट्रम्पको आदेशमा रोक लगाउँदै निषेधाज्ञा जारी गरेका थिए । ट्रम्पको आदेशमा अमेरिकाभित्र जन्मेका केही बालबालिकाको नागरिकता रद्द गर्न सकिने भनिएको थियो ।
न्यायाधीशहरूका अनुसार यो आदेश संविधानको १४औं संशोधनको प्रत्यक्ष उल्लंघन हो ।यो संशोधनअनुसार, अमेरिकामा जन्मिएका लगभग सबै व्यक्तिहरूलाई नागरिकताको अधिकार प्राप्त हुन्छ ।सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेशमा आगामी मे १५ मा सुनुवाइ हुने बताइएको छ ।