०५ बैशाख, काठमाडौं । आईसीसी यु-१९ विश्वकप अन्तर्गत एसिया छनोटको अन्तिम खेलको टिकट मूल्य २ सय रुपैयाँ तोकिएको छ ।
आज हुने नेपाल र अफगानिस्तानबीचको फाइनल सरहको खेलको टिकट मूल्य नेपाल क्रिकेट संघ (क्यान) ले २ सय रुपैयाँ तोकेको हो । टिकट आइएमई पेबाट काट्न सकिन्छ । जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली अहिलेसम्म अपराजित छन् । नेपालले युएई, हङकङ र ओमानलाई पराजित गर्दा अफगानिस्तानले पनि तिनै टोलीलाई पराजित गरेको हो ।
सन २०२६ मा हुने यु-१९ विश्वकपमा लिगको शीर्ष स्थानमा रहेको टोली जाने भएकाले दुवै टोलीका लागि भोलिको खेल महत्त्वपूर्ण छ । अहिले अफगानिस्तान तीन खेलबाट ६ अंकसहित पहिलो स्थानमा हुँदा नेपाल रनरेटमा मात्र कम भएर दोस्रो स्थानमा छ । नेपाल र अफगानिस्तानमध्ये एउटा मात्र टोली जाने भएकाले भोलिको खेल रोमाञ्चक हुने देखिएको छ ।