|  

परराष्ट्रमन्त्रीद्वारा तातोपानी नाका र भन्सार कार्यालयको निरीक्षण

०५ बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका र भन्सार कार्यालयको निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा उनले नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिँदै नेपाल सरकारले पनि आवश्यक पहल गर्ने बताएकी छन् ।  यो नाका वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको छ । पर्यटन प्रवर्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र त्यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनले जाेड दिइन् ।

मन्त्री डा.राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने बताइन । यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन ।