०५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताएका छन् ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज एक समारोहका बीच उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । इच्छाकामनाको प्रशासकीय भवन ३० करोड ९० लाख रुपैयाँमा निर्माण भएको छ।
सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकास-निर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताए। नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उनले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्पअनुसार काम गरिरहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रशासकीय भवन ३ करोड ९० लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार संघीय सरकार, जिल्ला समन्वय समिति चितवन र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको हो । सो अवसरमा पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।