०५ बैशाख, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताए । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिवन्ध लगाउन सकिने उनको भनाइ छ । उनले देशको स्वाभिमान विथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताए । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनकाे भनाइ छ ।
सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताए । उनले विभिन्न जातजाती तथा धर्मका अनुयायी मिलेर बसेको नेपाल विविधतामा एकता भएको बताए । उनले सामाजिक सञ्जालको दूरुपयोग गरी विदेशीहरुले नेपालको धार्मिक सहिष्णुतालाई खल्बलाउन नेपालीलाई कमजोर बनाउन खोजेको आरोप लगाए । सञ्चारमन्त्री गुरुङले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकार महासंघलगायत सबै पत्रकार सङ्घ संगठनसँग छलफल गरेर अगाडि बढाउने बताए ।