०५ बैशाख, काठमाडौं। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास भएको छ ।
आज कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री पाँचकर्ण राई, मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाका मेयर श्री केदार प्रसाद गुरागाई र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव सुश्री गरिमा नौटियालले संयुक्त रूपमा गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२.८१ करोड परियोजना लागतमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
श्री पञ्चायत माध्यमिक विद्यालय सन् १९६५ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीहरू छन् जसमध्ये ६०% छात्राहरू रहेका छन् ।
मन्त्री, मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर; विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण हुने पूर्वाधारले मोरङको श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये ९१ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् जसमा मोरङमा १६ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ । जसमध्ये २१ वटा एम्बुलेन्स र १५ वटा स्कूल बस मोरङमा उपहार स्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।