|  

प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच २ घण्टा बैठक, के–के भयो छलफल ?

०६ बैशाख, काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच करिब दुई घण्टा छलफल भएको छ ।

शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल भएको महासंघले जनाएको छ । भेटमा शिक्षकहरूको अहिलेको आन्दोलन, शिक्षक-कर्मचारीको मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा धारणा राखिएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहितलाई निर्देशन दिएका थिए।