६ बैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनप्रति कडा टिप्पणी गरेकी छन् ।
उनले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै शिक्षक आन्दोलनप्रति रोषक प्रकट गरेकी छन् । उनले मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लागेर शिक्षक, सरकार र संसद्को बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट प्रयास गरे पनि शिक्षकहरू संवाद गर्न तयार नरहेको टिप्पणी गरेकी छन् ।
उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिल्यै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौं भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र?’, झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘विधेयक पास गर्ने संसद् र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ?के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ? राज्यको तलब खाएका शिक्षक कर्मचारीले ?
भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’उनले आन्दोलन रोकर अब विद्यालय फर्किन शिक्षकहरूलाई आग्रह गरेकी छन् । सरकार र संसद्लाई विश्वास गर्न पनि उनले आग्रह गरेकी छन् । सर मेडमहरू अब विद्यालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसद्लाई विश्वास गर्नुस् । जिम्मेवार नेता साथीहरू ! ऐक्यवद्धताको रमिता तपाईंहरू पनि नगर्नुस् । बल र कोर्ट दुवै तपाईंकै खुट्टामा छ’, झाँक्रीले लेखेकी छन् ।