|  

ताप्लेजुङमा आन्दोलनकारीले घेरा हालेपछि योगेश भट्टराईलाई सुरक्षा दिन शौचालयमा थुनियो !

६ बैशाख, काठमाडौं ।  नेकपा एमालेका सचिव योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले घेरा हालेका थिए । नेता भट्टराई सिंढी चढेर शौचालय प्रवेश गरेका थिए । त्यसपछि उनीविरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका छन् ।

आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएका थिए ।आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेका थिए । चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको स्थानीयले बताएका छन् ।

भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेलसमेत भएको प्रत्यक्षदर्शीले बताए ।शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्‌घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए ।

फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा महोत्सव भइरहेको छ। महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो ।