०६ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रुण नेवार समुदायमा रहेको बताएका छन ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन् । उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे । उनले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भुमिकामा रहेको जिकिर गरे ।
नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताए । उनले भने, ‘समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरु जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरुलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो । नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यसकारण यो सम्मेलनलाई एउटा विशेष शुरुवात, एउछा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रुपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ ।’
अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःशाहस गरेको भएपनि सफल नहुने जिकिर गरे । उनले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरुको बिरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका बिरुद्ध चुनौति दिनुपर्ने बताए । उनले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गरे । नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गरे ।