०६ बैशाख, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताए । महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुने उनको भनाई छ । महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भूमिका उपयुक्त हुने बताए ।
पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्न सक्ने उनको भनाइ छ । मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबिच विश्वासको सङ्कट उत्पन्न भएको जानकारी दिँदै उनले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रियामा सरकार रहेको बताए ।