७ बैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङमा शनिबार मानिस र रोबोटबीच हाफ म्याराथन दौड प्रतियोगिता भएको छ ।
रोबोटिक्स र प्रविधिको क्षेत्रमा चीनको प्रगति देखाउने उद्देश्यले मानिस र रोबोटबीचको म्याराथन दौड शनिबार बेइजिङको दक्षिण–पूर्वी यिझुआङ जिल्लामा आयोजना गरिएको थियो । २१ किलोमिटरको म्याराथन सबैभन्दा कम समयमा पूरा गर्ने कीर्तिमान युगान्डाका जेकब किप्लिमोको नाममा छ, जसले यो दूरी ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरेका थिए ।
तर बेइजिङमा आयोजित २१ किलोमिटर म्याराथनमा मानिसले १ घण्टा २ मिनेटमा निर्धारित दुरी पूरा गर्दा रोबोटलाई २ घण्टा ४० मिनेट लागेको थियो । अर्थात् रोबोट मानिसहरुभन्दा १ घण्टा ३८ मिनेट अन्तरमा पछि परे ।
पहिलोपटक आयोजना गरिएको यस्तो प्रतियोगितामा चीनका ड्रायडअप, नोएटिक्स रोबोटिक्स, तियांगोंग अल्ट्रा जस्ता ठूला प्रविधि कम्पनीहरुले बनाएका २१ रोबोट सहभागी थिए ।
दौडिने क्रममा मानिसहरुलाई बीच–बीचमा पानी पिउनुपर्ने आवश्यकता पर्छ, त्यसरी नै रोबोटहरूलाई ब्याट्री बदल्न अनुमति दिइएको थियो ।रोबोटहरूसँग मानव प्रशिक्षकहरु पनि थिए, जसले दौडको क्रममा मेशिनहरूलाई सहयोग गरेका थिए ।