|  

थप भार बहन गर्न नसक्ने भन्दै अफगान नागरिकलाई देश फिर्ता पठाउने अभियान चलाउँदै पाकिस्तान

७ बैशाख, काठमाडौं ।पाकिस्तानले साढे १९ हजार अफगान नागरिकलाई देश निकाला गरेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

३० अप्रिलको अन्तिम समयसीमा अगाडि नै ८० हजारभन्दा बढी अफगान नागरिकले पाकिस्तान छाडेका स्रोतले जनाएको छ । पाकिस्तानले अब शरणार्थीको थप भार बहन गर्न नसक्ने भन्दै अवैध रूपमा पाकिस्तानमा बसोबास गरिरहेका र अस्थायी बसोबास अनुमति प्राप्त अफगान नागरिकलाई देशबाट निकाल्ने अभियान तीव्र बनाएको छ ।

तालिवान अधिकारीहरूका अनुसार पाकिस्तानले दैनिक सात सय देखि आठ सय परिवारहरूलाई देश निकाला गरिरहेको छ । आगामी महिनाहरूमा झन्डै २० लाख अफगान नागरिकलाई देश निकाला गर्ने अपेक्षा गरिएको छ ।
 पाकिस्तानमा ३५ लाखभन्दा बढी अफगान बसोबास गरिरहेका छन् ।

त्यसभित्र सन् २०२१ मा तालिवानले सत्ता सम्हालेपछि आएका करिब ७ लाख मानिस पर्छन् । राष्ट्रसंघले यी मध्ये आधा मानिससँग कुनै कागजात नभएको अनुमान गरेको छ ।पाकिस्तानले दशकौँदेखि युद्धबाट पलायन भएका अफगानहरूलाई आश्रय दिँदै आए पनि उच्च संख्यामा रहेका शरणार्थीका कारण राष्ट्रिय सुरक्षामा जोखिम र सार्वजनिक सेवामा दबाब परेको बताएको छ ।