०७ बैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन् ।
याक दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए । उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाैरी पालन भएको बताए । चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ । याक र चौरी पर्यटन प्रवद्र्धनको समेत आकर्षण केन्द्र भएको बताए । उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । उनले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताए । याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उनको भनाइ छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताए । उनले याक तथा चाँैरी पालन गर्ने देशहरुको साझा संस्कृति र साझा सम्पतीको रुपमा विकास गर्नुपर्ने बताए । याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा उनले जोड दिए । दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उनको भनाइ छ ।