०७ बैशाख, काठमाडौं । भोलिसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा कठिन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भोलीसम्म पनि विद्यालय खुलेन भने परीक्षा लिन कठिन हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा गर्ने अन्तिम तयारी भएता पनि आन्दोलन फिर्ता नलिएसम्म सम्भावना नहुने बताए । उनले भने-भोली अर्थात सोमबारभित्र आन्दोलनरत शिक्षक केन्द्रमा प्रवेश नगरे परीक्षा हुन कठिन छ । हामी त एकदिन अघिसम्म प्रश्नपत्र पठाएर परीक्षा लिन तयार छौ, तर परीक्षा संचालन र व्यवस्थापन गर्ने जिम्मा लिएका शिक्षक केन्द्रमा प्रवेश नगरेसम्म परीक्षा हुन कठिन छ ।
परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायत, जिल्लास्थित परीक्षा समन्वय समिति लगायतसंग छलफल जारी राखेको छ । शिक्षक नै परीक्षा केन्द्रको केन्द्राध्यक्ष, निरीक्षक हुने भएकोले उनीहरुको सहयोग नभएको कारण परीक्षा स्थगित हुन लागेको हो ।
महासंघले आजबाट सबै निजी विद्यालय बन्द गर्न आग्रह गरेको छ । कक्षा १२ को परीक्षामा १ हजार ५ सय ९१ परीक्षा केन्द्र छ । केन्द्र कायम भएका अधिकांश सामुदायिक विद्यालय हुन् । परीक्षामा करिब ४४ हजार जनशक्ति परिचालित हुनेछन । ती सबै व्द्यिालयका प्रअदेखि शिक्षक, कर्मचारी र कार्यालय सहयोगी हुन । नियमित र आंगिक र २२ वर्ष पुराना परीक्षार्थीसहित ५ लाख ५१ हजार परीक्षार्थी सहभागी हुनेछन । वि.सं २०५६ देखि ०७७ सम्मका ३८ हजार परीक्षार्थी छन । आंशिक तर्फ ९९ हजार ७ सय ९३ र नियमिततर्फ ३ लाख ९७ हजार ९ सय ७५ विद्यार्थी छन् ।