|  

लिङ्देनसहितका नेतालाई छाड्ने कि हिरासतमा राख्ने भन्नेबारे छलफल जारी

०७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई छाड्ने कि हिरासतमा राख्ने भन्नेबारे प्रहरीभित्र छलफल चलिरहेको छ ।

उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले लिङ्देनसहितका नेतालाई थुनामा राख्ने वा आज साँझसम्म छाड्नेबारे आन्तरिक छलफलमै रहेको जानकारी दिएका हुन् । उनले भनेका छन्,‘पक्राउ परेका नेताहरू अहिले नै छाड्ने भन्ने कुरा हुँदैन, हामी छलफलमै छौँ ।’ 

निषेधित क्षेत्र तोड्ने घोषणा गरेर आज राप्रपाले काठमाडौंको बिजुलीबजारदेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो । अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत ७ जनालाई सिहंदरबार भित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।