०७ बैशाख, काठमाडौं । महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने भएको छ ।
यही वर्षको अन्त्यमा हुने महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष मोहसिन नकवीले जानकारी दिए । यस वर्ष ‘हाइब्रिड मोडेल’ अपनाइएपछि पाकिस्तानका खेलहरू तटस्थ मैदानमा आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र आयोजक भारतले तटस्थ मैदान छनोट गर्ने पीसीबीका अध्यक्ष नकवीले जानकारी दिए ।
जसरी भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेलेन र तटस्थ मैदानमा खेल्न अनुमति पायो, त्यसरी नै पाकिस्तानले पनि तटस्थ मैदानमा खेल्ने उनको भनाइ छ । एकपटक सम्झौता भएपछि त्यसको पालना गर्नुपर्ने पीसीबीका अध्यक्ष नकवीले बताए ।
यस वर्ष महिला एकदिवसीय विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म आयोजना हुँदैछ । छनोटका ५ वटै खेल जित्दै पाकिस्तान महिला एकदिवसीय विश्वकपमा छनोट भएको हो । यस विश्वकपमा पाकिस्तान र आयोजक भारतसहित पूर्वविजेता अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलङ्का सहभागी हुनेछन् ।