|  

चर्को आलोचना भएपछि आशिका तामाङले फेसबुकबाट सुटुक्क हटाइन् विवादित भिडिओ

०७ बैशाख, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले शनिबार एक सरकारी कर्मचारीसँग पास मागेको विवादित भिडिओ आफ्नो फेसबुक पेजबाट हटाएकी छन् ।

शनिबार दिउँसो अपलोड गरिएको उक्त भिडिओ छोटो समयमै भाइरल भए पनि आज उनको १६ लाखभन्दा बढी फलोअर भएको पेजबाट गायब भएको हो । भिडिओ अनुसार ट्राफिक जाममा रोकिएका सरकारी मोटरसाइकल चलाइरहेका एक कर्मचारीलाई तामाङले नमस्ते गर्दै सोध्छिन, “आज शनिबार होइन ?” प्रत्युत्तरमा कर्मचारीले शनिबार भए पनि अफिसमा काम रहेको बताउँछन । त्यसपछि तामाङले ‘पास छ ?’ भनी प्रश्न गर्छिन । कर्मचारीले ‘पास छ । पास बिनै कोही सरकारी गाडी चलाउँछ र ?’ भनी जवाफ दिँदै जङ्गिन्छन । तामाङले फेरि पास देखाउन आग्रह गर्छिन । त्यसपछि ती कर्मचारीले नजिकै रहेका ट्राफिक प्रहरीलाई देखाउँदै ‘प्रहरीलाई बोलाउनुस, म उहाँलाई नै देखाउँछु । तपाईंलाई किन देखाउने ?’ भन्छन ।

तामाङले छेउमा रहेका अर्का एक व्यक्तिलाई सरकारी मोटरसाइकल चढ्ने व्यक्तिलाई हेर्न भन्दै ट्राफिक प्रहरी बोलाउँछिन । ट्राफिक प्रहरी आएर ती कर्मचारीले देखाएको पास हेर्छन र सही रहेको पुष्टि गर्छन । त्यसपछि तामाङले प्रहरीले हेरेको पास आफैंले लिन खोज्दा कर्मचारीले ‘तपाईं पास हेर्ने आधिकारिक व्यक्ति वा निकाय होइन । अथोरिटी उहाँ (ट्राफिक प्रहरी) हो,’ भन्दै दिन अस्वीकार गर्छन । भिडिओमा कर्मचारीले ‘जहाँ पनि स्टन्ट मच्चाएको छ’ भन्दै तामाङलाई आरोप लगाएको पनि सुनिन्छ । तामाङले यो सम्पूर्ण कुराकानी गोप्य क्यामेराबाट खिचेको र ‘सरकारी कर्मचारीको व्यवहार हेर्नुस’ भन्दै शनिबार दिउँसो अपलोड गरेकी थिइन । यो भिडिओ अपलोड भएको छोटो समयमै विभिन्न सामाजिक सञ्जालमा फैलिँदै भाइरल भएको थियो ।

तामाङले राखेको सो भिडिओमा अधिकांश टिप्पणीले उनको कार्यशैलीको आलोचना गरेका थिए । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले तामाङको गल्ती भएको आशय व्यक्त गरेका थिए । यद्यपि, केहीले जनताको करबाट सञ्चालित सरकारी साधन सदुपयोग वा दुरुपयोग भइरहेको छ कि छैन भनी जाँच्ने अधिकार आम नागरिकमा रहेको भन्दै तामाङको कार्यको समर्थन पनि गरेका थिए । अर्को पक्षले भने तामाङले पब्लिसिटीका लागि स्टन्ट गरेको र सरकारी कर्मचारीलाई अनावश्यक दुःख दिएको टिप्पणी गरेका थिए ।

आइतबार दिउँसोसम्म तामाङको १६ लाख बढी फलोअर भएको आधिकारिक फेसबुक पेजबाट उक्त भिडिओ हटिसकेको छ । तामाङले आफ्नो पेजबाट भिडिओ हटाउनुको कारणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । यद्यपि, उक्त भिडिओ अन्य धेरै फेसबुक पेज, टिकटक, एक्स र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अहिले पनि उपलब्ध छ र चर्चा भइरहेको छ ।