|  

फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको म्याद सकियो

०७ बैशाख, काठमाडौं। सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको म्याद सकिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरुलाई नेपालमा दर्ता गर्न आग्रह गरेको थियो । सरकारले नेपालमा दर्ता नभए सामाजिक सञ्जाल बन्दै गर्नेसम्म चेतावनी दिँदै आएको छ । सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभए सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने भनेर बारम्बार भाषण पनि दिँदै आएका छन् । गत शुक्रबार पनि उनले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने चेतवनी दिए ।

यसअघि सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम गत चैत ७ गते ३० दिनको म्याद दिएर सामाजिक सञ्जाल कम्पनीहरुलाई नेपालमा दर्ता हुन आह्वान गरेको थियो । ३० दिने म्याद आज सकिएको छ । तोकेको मितिसम्म दर्ता हुन नआए उक्त निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी दिइएको थियो ।

निर्देशिकामा नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने समेत प्रावधान रहेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र विटोक नामक सामाजिक सञ्जाल दर्ता भइ सञ्चालन भइरहेका छन् ।