८ बैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले सरकारले शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउन थालेको आरोप लगाएका छन् ।
उनले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संविधान प्रदत्त प्रजातान्त्रिक हक अधिकार, मानव अधिकारको बर्खिलाफ गर्दै सरकारले शान्तिपूर्ण भेला जम्मा भइ आयोजना गरिने गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शन लगायत कार्यक्रमहरुमा प्रतिबन्ध लगाउन थालेकोमा यस संयुक्त जनआन्दोलन समितिको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हनन् गर्ने सरकारको निरंकुश कार्य निन्दनीय छ ।’
यस सन्दर्भमा उनले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलन, पत्रकार सम्मेलन तथा गोष्ठीहरूमा प्रतिबन्ध लगाउन थालेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्था, मिडिया तथा व्यक्तिहरूलाई आवाज उठाइदिन आग्रह गरेका छन्।