०८ बैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी साधन दुर्घटना हुँदा जाँचबुझ आयोग गठन गर्नुपर्ने व्यवस्था ऐनमा गर्नु नपर्ने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सवारी साधन दुर्घटनामा दुर्घटनाको प्रकृति हेरेर तत्कालिन अवस्थामा सरकारले निर्णय गर्ने प्रचलन भएको बताए । उनले सवारी दुर्घटनामा भएको क्षतिवापत बीमा कम्पनीले दिने क्षतिपूर्तिको विषय नेपालमा व्यवस्थित भइ नसकेको भन्दै बीमा गर्दा विभिन्न आकर्षण देखाएर गर्ने तर क्षतिपूर्ति दिने बेलामा समस्या आउने गरेको बताए ।
विकसित मुलुकमा बीमाबापत दिने क्षतिपूर्ति प्रहरीको सामान्य रिपोर्टका आधारमा घरैमा पुग्ने गरेको उनले बताए । बीमाको बारेमा कस्तो दुर्घटनामा के कस्तो क्षतिपूर्ति दिने भन्ने बारे ऐनमा उल्लेख गर्नु नपर्ने भन्दै उनले तत्कालिन अवस्थामा सरकारले नै निर्णय गरेर दिनुपर्ने बताए । उनले समुन्द्रमा चल्ने पानीजहाजमा लागू हुने नियम आन्तरिक जलमार्गमा चल्ने यातायातको साधनमा पनि लागू हुने बताए ।