०८ बैशाख, काठमाडौं। रोल्पाको लुङ्ग्री गाउँपालिकामा कुकुरलाई अमानवीय ढंगले झुन्ड्याएर मारिएको घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ३ गते भएको सो घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानमा खटिएको टोलीले ७ वैशाखमा लुङ्ग्री–७ का २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्मर पुनलाई नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध पशुपक्षी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रोहित कुमार शाहीका अनुसार घटनाबारे गम्भीररूपमा छानबिन भइरहेको छ ।