९ बैशाख, काठमाडौं । नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ।
वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो । उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो । जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका छन् ।
स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको छ । सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्षमुनिका युवालाई पनि सहभागिताको निम्ति निर्देशन दिइएको छ ।
युवाहरूलाई काठमाडौं ल्याउने र लैजाने कार्यको संयोजन गर्न पार्टी जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको परिपत्रमा उल्लेख छ।