शुक्रवार २७ बैशाख, २०८२  | Friday 9 May, 2025 

भारतीय र चिनियाँ विद्यार्थीले गरे ट्रम्प सरकारविरुद्ध मुद्दा दायर

९ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै विदेशी विद्यार्थीहरूको F-1 भिसा रद्द गरेका छन्।

ट्रम्पको भिसा रद्दको निर्णयविरुद्ध भारतीय र चिनियाँ विद्यार्थीहरू मिलेर ट्रम्प सरकारविरुद्ध कानुनी कारबाहीको बाटो अपनाएका छन् । यी विद्यार्थीहरूले अमेरिकी गृह सुरक्षा विभाग  (DHS)  र अन्य अध्यागमन अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेका छन्।

अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयू) ले न्यु ह्याम्पशायरको अमेरिकी जिल्ला अदालतमा सो मुद्धा दायर गरेको हो । विद्यार्थीहरूले आफ्नो भिसा रद्द गर्ने निर्णय एकपक्षीय र गैरकानूनी भएको जनाएका छन् । यो निर्णयले उनीहरूलाई शिक्षा, जागिर र अमेरिकामा कानुनी बसाइँको अधिकारबाट वञ्चित गरिएको उनीहरूको आरोप छ।

मुद्दामा भिसा अचानक रद्द गर्नाले विद्यार्थीहरूलाई देश निकाला र हिरासतमा लिने जोखिम हुने जनाइएको छ । ३ भारतीय र २ चिनियाँ विद्यार्थी सो मुद्दासँग सम्बन्धित रहेका जनाइएको छ । उनीहरुले अदालतमा आफ्नो विचार प्रस्तुत गरेका थिए।सबै सर्तहरू पालना गरेका र केही गल्ती नगरेका विद्यार्थीको भिसा रद्ध गरिएको उनीहरुको आरोप छ।