९ बैशाख, काठमाडौं । नेकपा एमालेले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ मनाउने भएको छ।
एमालेका महासचिव शंकर पोखरेलले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए।
कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले १ बजे सम्बोधन गर्नेछन्।कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने उनले बताए।
आजको कार्यक्रममा पार्टी केन्द्रबाट प्रकाशित ‘शेल्टर’ नामको पुस्तक विमोचन गरिने छ। पुस्तकमा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको छ।