०९ बैशाख, काठमाडौं । पूर्व शिक्षामन्त्री समेत रहेका रास्वपा सांसद शिशिर खनालले आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न सम्भव नहुने बताएका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको भन्दै खनालले अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना माग पूरा गर्न सम्भव नभएको स्पष्ट पारेका हुन् । उनले अहिले शिक्षा मन्त्री भट्टराईलाई बलिको बोको बनाइएको टिप्पणी गरे । शिक्षामन्त्री भट्टराईको राजीनामा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजे जस्तो भएको उनको आरोप छ । उनले लेखेका छन्,‘आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षा मन्त्रालय वा शिक्षामन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन । शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ । अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन ।’