०९ बैशाख, काठमाडौं । तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका जनकमाण्डर दुर्गा प्रसाईको बयान लिन थालिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईको बयान थालिएको हो । हिजोबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिएका छन । समय अभावका कारण हिजाे थोरै समय प्रसाईंको बयान लिइएको थियो । आज फेरि बयान सुरु भएको काफ्लेले बताएका छन् । प्रसाईंविरुद्ध ज्यानसम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन थालिएको छ ।
यस्तै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई किच्ने गरी गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । सार्वजनिक भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई किचौलाझै गरी गाडी अगाडि बढाएको देखिन्छ । प्रसाईलाई पहिलो पटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो । अन्य कसुर भने पछि थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ । तीनकुने घटनामा पत्रकारसहित २ जनाको ज्यान गएको थियो । प्रसाई भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।